शिक्षामा कोरोना आतंकः सचेतना र तयारी

Published Date: Mar 9, 2020, आरके ढुंगाना
विश्व स्वास्थ्य संगठनले चीनबाट सुरुभइ विश्वव्यापी महामारीको रुप ग्रहण गर्दै गइरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उच्च जोखिमयुक्त देशको रुपमा नेपाललाई पनि समावेश गरेपछि यसको प्रभाव र सम्भावित जोखिमका सन्दर्भमा बहसहरु भइरहेका छन् । कोरोनाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि भयवित छ । शिक्षा मन्त्रालयले विद्यालय तहमा चैत्र ५ गतेसम्ममा सवै वार्षिक परीक्षा सम्पन्न गरि लामो समय विदा दिने पूर्वतयारीका साथ सूचना सम्प्रेषण गरिसकेको छ । विद्यालय तहको परीक्षा चैत्र पहिलो साता भित्र सम्पन्न गर्ने तथा एसइइ परीक्षा पूर्व निर्धारीत कार्यतालिकामा संचालन गर्ने निर्णय गरिएपनि कक्षा ११ र १२ का वार्षिक परीक्षा तथा विश्वविद्यालयस्तरका कक्षा संचालन तथा परीक्षाबारे कुनै निर्णयमा पुगि सकिएको छैन् । यद्यपी चिसोमा बढी सक्रिय हुने कोरोनाको प्रभावकारी सावधानीका लागि सवै तहमा तत्कालै विदा दिएर गर्मी चढेपछि वार्षिक परीक्षा संचालन तथा पठनपाठन सुरु गर्नु मनासिव हुने चर्चा पनि चलिरहेको छ । बहस जे भएपनि कोरोनाका कारण हामीले लामो समय पठनपाठन बन्द गर्नुपर्ने अवस्था संनिकट छ । यस्तो सम्भावनालाई मध्यनजर गर्दै कोरोनाका कारण शिक्षा क्षेत्रमा पर्ने प्रभावका बारेमा सचेतना अपनाइ विविध पक्षमा तयारी गर्नु आजको आवश्यकता हो ।
विद्यालयलाई पार्ने प्रभाव र अवसर
कोरोनाका कारण निर्धारित कार्यतालिकाभन्दा अगावै परीक्षा संचालन गर्नुपर्ने अवस्था आएकाले कतिपय विद्यालयमा कोर्स नसकिदैँ परीक्षा संचालन गर्नुपर्ने बाध्यता आइपरेको छ । देशैभरिका विद्यालयलाई तत्कालिन अवस्थामा छोटो समयमा परीक्षाका सवै व्यवस्थापन गर्नु चुनौतिपूर्ण कार्य हो तर पनि राष्ट्रिय संकटका समयमा चाहे भुकम्प होस या जनआन्दोलनको समय, सवै समयमा प्रभावकारी भूमिका निर्वाह गरेको नजीरका आधारमा यसपटक पनि चुनौतिलाई सामना गर्नुको विकल्प छैन् । लामो विदा तथा भैपरि आउने प्रकोप वा महामारीबाट सिर्जित हुने समस्याहरुका सन्दर्भमा नीजि तथा सामुदायिक विद्यालयहरुका आ–आफ्नै जटिलताहरु छन् । नीजि विद्यालयहरु अभिभावकहरुले तिर्ने शुल्कमा भरपर्ने हुदाँ समय अगावै परीक्षा गरी विद्यालय वन्द गर्दा शुल्क उठाउँन नसकी आर्थिक व्ययभार थपिने र कर्मचारी व्यवस्थापन तथा तलव वितरणमा समस्या पर्ने मारमा छन् । प्रर्याप्त पूर्व तयारीविनै परीक्षा संचालनका विभिन्न आयामहरुमा आउने प्राविधिक जटिलताहरु नीजि तथा सामुदायिक दुवै विद्यालयहरुले भोग्नुपर्नेछ । चैत्र ५ पछि लामो समय अर्थात कम्तीमा एक महिना विदा हुने अवस्था छ । सामुदायिक विद्यालयको हकमा एक त गुणस्तरीय शिक्षाको सन्दर्भमा पटक पटक प्रश्न उठिरहेको अवस्था, त्यसमाथि कतिपय विद्यालयमा विद्यार्थी संस्था नगन्य नै छ । कोरोनासँग जुँध्दै कोरोनाका कारण हुने लामो विदालाई सदुपयोग गरि विद्यार्थी संख्या बढाउने रणनीति तयारी गर्ने, गुणस्तरिय शिक्षाको आधार तयार गर्ने अवसरका रुपमा लिनुपर्दछ । यसका लागि निम्न अवसरहरु निर्माण गर्न सकिन्छः
क. परीक्षापश्चातको विदालाई सदुपयोग गर्दै सामुदायिक तथा नीजि दुवै विद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि शैक्षिक गुणस्तर सुधारका सन्दर्भमा प्रभावकारी कार्ययोजना तयार गर्ने ।
ख. अघिल्लो शैक्षिक सत्रमा पूरा गर्न नसकिएको योजना तथा कमीकमजोरीको लेखाजोखा गरी नयाँ कार्यक्रम तथा योजना तर्जुमा गर्ने ।
ग. नयाँ शैक्षिक सत्रको वार्षिक कार्यक्रमहरुको कार्यतालिका तथा क्यालेन्डरलाई व्यवहारिक, वस्तुपरक तथा प्रभावकारी ढंगले तयार गर्न समयको सदुपयोग गर्ने ।
घ. विदाको समयमा शिक्षक तथा कर्मचारीहरुलाई प्रभावकारी तालिम प्रदान गरी सकारात्मक सोच विकास तथा बालमैत्री शिक्षण सिकाइका लागि तयार पार्ने ।
ङ शिक्षकहरुले तहगत रुपमा भेला गरि नयाँ शैक्षिक सत्रका लागि आवश्यक पर्ने वार्षिक योजना, त्रैमासिक योजना तथा पाठयोजना तयार गर्ने ।
च. शिक्षण क्रियाकलापमा आवश्यक विभिन्न परियोजना तयार गर्ने, अनुसन्धानमूलक शिक्षणको आधार तयार गर्ने, विषयवस्तुसँग सम्बन्धित शैक्षिक सामग्रीहरु तयार गर्ने समयको रुपमा सदुपयोग गर्ने ।
छ. मूल्याङ्कन प्रणालीलाई पूनरावलोकन गरी निरन्तर मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउने, एकीकृत शिक्षणको लागि अध्ययन तथा अनुसन्धान गरी आगामी शैक्षिक सत्रवाटै लागू गर्ने गरि तयारी गर्ने ।
ज. विद्यालयको भौतिक संरचना सुधार गर्न सक्ने विद्यालयहरुले पठनपाठन नहुँने समयको सदुपयोग गर्दै थप भौतिक संरचना निर्माण, ल्यावको सुदृढिकरण, मर्मतसम्भार तथा व्यवस्थापन गर्ने ।
शिक्षाको गुणस्तरमा पार्ने प्रभाव
कोरोनाको विश्वव्यापी महामारीका कारण शिक्षाको क्षेत्रमा विभिन्न समस्याहरु आउन सक्ने तर्फ सवै निकाय सजग हुनुपर्दछ । कोरोनाका कारण पठनपाठन बन्द गर्नुपर्ने, योजना तथा कार्यतालिका प्रभावित हुने हुदाँ निश्चय नै शिक्षाको समग्र गुणस्तर पनि प्रभावित हुन्छ । निर्धारित समयभन्दा छिटो वार्षिक परीक्षा हुँदा शैक्षिक सत्रमा सक्नुपर्ने सवै विषयवस्तु अध्यापन गर्न सकिएको हुँदैन । विद्यार्थीहरुले सिक्नुपर्ने कुरामा पर्याप्तता भएको हुँदैन । यसको प्रभाव शिक्षाको गुणस्तरमा पर्न सक्छ । आवश्यक तयारीवेगर लिइने परीक्षाले सहि मूल्याङ्कन नहुन पनि सक्छ । यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र सुरु भएको कम्ती १–२ हप्ता अघिल्लो कक्षामा नसकिएको विषयवस्तु सिकाइलाई जोड दिई पूर्णता दिनुपर्दछ । हतारमा व्यवस्थापन गरिएको परीक्षा प्रणालीका कारण प्रभावकारी मूल्याङ्कन विधि अवलम्बनमा केही समस्या देखापर्ने र यसले विद्यार्थीको मानसपटलमा परीक्षाप्रतिको धारणामा नकारात्मक प्रभाव पर्न सक्छ । यस तर्फ पनि विद्यालय चनाखो हुनुपर्दछ । आज कोरोनाको कारण जटिलता आएको भए पनि यसवाट पाठ सिक्दै भविष्यमा समेत विभिन्न जोखिम आउन सक्ने हुँदा हाम्रो परीक्षा प्रणालीलाई तीन घण्टे परीक्षासँगमात्र नजोडि निरन्तर मूल्याङ्कनका विधिहरुलाई व्यवस्थित रुपमा अवलम्बन गर्नु आवश्यक छ । गुणस्तरकै लागि लामो समयसम्म विद्यार्थीहरु सिकाइ प्रक्रियाबाट टाढा रहन नदिन आधारभूत सिकाइ कक्षाहरु एफ्.एम., टि.भि., युवट्युव, तथा सामाजिक संजालबाट संचालन गरि घरमै बसेर सिकाइ गर्न प्रोत्साहन गर्नुपर्दछ ।
मनोवैज्ञानिक त्रास र असर
कोरोनाले विश्वव्पारी महामारीको रुप ग्रहण गरिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको हुँदा यसले सवत्र त्रास सिर्जना गरेको छ । अझ बालबालिकाहरुमा यसको मनोवैज्ञानिक असर लामो समयसम्म रहिरहन सक्छ । अव के हुने होला ? कोरोना लाग्ने पो हो की ? मरिने पो हो की ? भन्ने जस्ता चिन्ताले सवैमा एक किसिमको डर पैदा गरिरहेको छ । डर, त्रास र चिन्ता न्यूनीकरणका लागि सर्वप्रथम अनावश्यक होहल्लालाई निरुत्साहित तथा न्यूनीकरण गर्नु आवश्यक छ । विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरुबाट प्रभाव गरिने नकारात्मक तथा गलत समाचारहरुलाई निरुत्साहित तथा निषेध गर्नुपर्दछ । विद्यालय तहमा अध्ययनरत बालबालिकाहरुलाई यसवर्ष परीक्षाको चाप र विदाका कारण नसकिए पनि नयाँ शैक्षिक सत्रमा विद्यालय खुलेलगतै मनोसामाजिक कक्षा संचालन गर्ने, आवश्यकताअनुसार समस्याको प्रकृति हेरेर परामर्श कार्यहरु गर्ने तथा विदाको समयमा पनि विभिन्न माध्यमबाट सकारात्मक मनोसामाजिक परामर्शलाई प्रचार तथा प्रसारण गर्न सकिन्छ ।
अभिभावकीय जिम्मेवारी र तयारी
कोरोनाका कारण उत्पन्न सवै प्रकारका समस्याहरुसँग जुध्न अभिभावकहरुको साथ र सहयोग अपरीहार्य हुन्छ । चाहे परीक्षाको तयारीमा होस या परीक्षा पश्चातको विदामा, अभिभावकहरु जिम्मेवार भएर बालबालिकाहरुलाई हौसला प्रदान गर्दै सम्भावित जोखिमका लागि पूर्व तयारी अवस्थामा रहनु आवश्यक हुन्छ । प्राकृतिक प्रकोप तथा रोगको मार जतिखेर पनि आइपर्नसक्ने हुदाँ हाल देखिएको कोरोनाको विश्वव्यापी फैलावटवाट त्रसित नभइ धैर्यताका साथ स्वस्थ जीवनयापन संचालन गर्नुपर्दछ । कोरोनाबाट बच्न र बचाउन यथासम्भव प्रयत्नशिल रहनुपर्दछ । त्यसका लागि निम्न कुरामा सचेत रहनु आवश्यक हुन्छः
क.सधै तातो पानीको सेवन गर्ने, खानेकुरा राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खाने ।
ख. धेरै भिडभाडमा नजाने तथा घरमा भेला–उत्सव आयोजना नगर्ने,
ग. नातागोता, आफन्त, साथीभाईहरुसँग भेटघाट हुँदा हात नमिलाउने, अंकमाल नगर्ने, अभिभादनका लागि नमस्कार गर्ने,
घ. मास्कको प्रयोग गर्ने, बाहिरबाट घरमा आइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने,
ङ. माछा–मासु तथा अण्डाका परिकारहरु राम्ररी पकाएर मात्र सेवन गर्ने,
च. रुघाखोकी लाग्ने, घाँटी सुक्ने वा दुख्दाँ, लगातार टाउको दुख्ने तथा ज्वरो आइ श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्नासाथ नजिकको स्वास्थ्यकेन्द्रमा गइहाल्ने ।
छ. महामारी सुरु भइहाल्नु अगाडि सुसूचित हुने, अफवाहहरूको पछाडि नलागी आधिकारीक संचारमाध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्ने ।
ज. लामो समय विदा हुने भएमा विदालाई सदुपयोग गर्दै विभिन्न उपयोगी पुस्तक किन्ने, आफुपनि पढ्ने तथा बालबालिकाहरुलाई पनि पढ्न लगाउने । घर भित्रै खेल्न सकिने विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यमा व्यस्त राख्ने ।
झ. नेपालमा अझ केही समय ढिलो गरेर संक्रमण भित्रियो भने मौसम हाम्रा लागि अनुकूल हुन सक्नेछ, किनकि कोरोना भाइरसको फैलावट र जटिलता जाडोमा बढी हुने गर्छ । त्यसैले, धेरै नआत्तिकन, भरपर्दो सुचनाका आधारमा सचेत रहने तथा बालबालिकाहरुलाई पनि अनावश्यक हल्लको पछाडि नलाग्न सजग गराउने ।
भविष्यका लागि सिकाइ
अहिले विश्वभरि नै कोरोनाको सन्त्रास छ । विगतमा पनि विभिन्न प्राकृतिक संकटहरुलाई हामीले भोगेको नै हो । पर्याप्त पूर्व तयारी तथा सचेतना नभएका कारण २०७२ सालको भूकम्पको वेला पनि हामीले धेरै हण्डर र ठक्कर खाएका हौ । त्यसैले कोरोना जस्तै महामारी वा कुनै पनि प्राकृतिक प्रकोपलाई सामना गर्न सरकारी स्तर देखि विश्वविद्यालय, विद्यालय तथा घरघरमा समेत आवश्यक तयारीलाई महत्वका साथ उठान गर्नुपर्ने देखिन्छ । समस्या आइसकेपछि समाधान खोज्ने भन्दा पनि यस्तो प्रकृतिका कुनै पनि प्रकोपका विषयमा के के गर्ने ? के नगर्ने ? भन्ने विषयमा सरकारले कार्यविधि नै बनाउनु राम्रो हुन्छ । जसले गर्दा भविष्यमा कुनै पनि निर्णय कार्यविधिका आधारमा हुने हुँदा सवैलाई तयारीका लागि मार्गनिर्देशन गर्न सजिलो हुन्छ र निर्णय धेरै हदसम्म विवादरहित रहन्छ । विद्यालयहरुले पनि यस्ता विषयमा विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी तथा विद्यार्थी–अभिभावकहरुलाई सुसुचित गर्ने, वेलावेलामा अभिमूखीकरणका मार्फत पूर्व तयारीका वारेमा जानकारी दिने गर्नुपर्दछ । भूकम्प या महामारी जुनसुकै वेला, जुनसुकै भुगोगमा आउन सक्ने हुनाले यसको पूर्वतयारीका लागि निश्चित समय नै चाहिन्छ भन्ने होइन् । त्यसैले भविष्यमा कोरोना जस्तै महामारी वा अन्य प्राकृतिक प्रकोपबाट धेरै हानी हुन नदिन सवै स्तरमा आवश्यक तयारीका लागि वातावरण वनाउनु आजको अपरिहार्य आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *